चन्द्रकला भण्डारी (रासस)
  नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्‍याउने काम वर्षाैँदेखि चलिआएको छ ।
यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका विवशतालाई विभिन्न सपना देखाएर सीमा कटाउने काम गरिरहेका छन् । नेटवर्किङका नाममा यस्तै ठूलो मानव तस्करीको जालो अहिले मेची वारिपारि सक्रिय रहेको फेला परेको छ ।

जागिर लगाइदिने प्रलोभनमा मानव तस्करी


दोलखाका सुदीपबाबु पोखरेलले गाउँमा रहेका १७ र २१ वर्षका फेसबुकका दुई केटी साथीलाई जागिर लगाइदिने प्रलोभनमा पारेर झापा ल्याए । यही माघ १५ गते काँकडभिट्टा नाका पार गर्न लाग्दा प्रहरीले गरेको सोधपुछमा उनीहरूलाई ओरियन्स नामक नेटवर्किङ कम्पनीमा भारत लगिएको खुलासा भयो ।
मानव बेचविखन अभियोगमा पक्राउ परी हाल अनुसन्धानका लागि काँकडभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतमा थुनिएका पोखरेल ओरियन्सका एजेन्ट हुन् । प्रहरीले उद्धार गरिएका दुवै चेलीलाई अभिभावक बोलाएर जिम्मा लगाएको छ ।

फेसबुकबाट फकाएर भारत पुर्‍याउछन्


माघ २१ गते नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकामा शङ्कास्पद अवस्थामा डुलिरहेका तीन किशोरी र एक युवकलाई ‘साना हात, भारत’ नामक संस्थाका निगरानीकर्ताले सोधपुछ गरे । पानीटङ्कीस्थित एक घरमा सञ्चालित होस्टलमा बस्दै आएका तीन किशोरी पनि ओरियन्स नेटवर्किङ कम्पनीको तालीम लिनका लागि काठमाडौंंबाट फकाएर ल्याइएका रहेछन् ।
मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा निगरानी गर्दै आएको साना हातलेसोही दिन चारै जनालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा जिम्मा लगाइदियो । नेपाल प्रहरीको महिला सेलले सोधपुछ गर्दा उदयपुर, त्रियुगा नगरपालिका वडा नं १५ घर भई काठमाडौंंको मान्द्रो रेष्टुँरामा काम गरिरहेका तीनै किशोरीलाई ओरियन्सको एजेन्टका रुपमा काम गर्ने मोरङ, विराट्चोक निवासी मोहम्मद आलम मियाले फेसबुकका सम्पर्कबाट पालैपालो फकाएर भारत पुर्‍याएको तथ्य फेला पर्‍याे ।

आफ्नै भाञ्जीलाई पनि बाँकी राखेनन्


नवलपरासी, मध्यविन्दु–१५ घर भएका २४ वर्षीय पुनमबहादुर कुमालले झापाको अस्पतालमा जागिर खुलेको छ भनेर गाउँमा रहेकी २१ वर्षीया आफ्नै भाञ्जीलाई फकाएर काँकडभिट्टा बोलाए ।
माघ २१ गते बिहान साना हातका निगरानीकर्ताले ओरियन्स कम्पनीको तालीममा भारत लैजान लागेको तथ्य पत्ता लगाएपछि कुमाललाई प्रहरीको जिम्मा लगाइदिएका छन् भने युवतीलाई उद्धार गरेर पुर्नस्थापना गृहमा राखेका छन् । उद्धार गरिएकी युवतीलाई जिम्मा लिन प्रहरीले उनकी आमालाई बोलाएको छ ।
काँकडभिट्टा नाकाबा दिनहुँ युवतीकाे उद्धार
झापाकाे काँकडभिट्टा नाकाबाट प्रहरी र गैरसरकारी निगरानीकर्ताको आँखा छलेर ६ महिनायता भारतको ओरियन्स नेटवर्किङ कम्पनीका एजेन्टले जागिर लगाइदिने बहानामा नेपालका ग्रामीण किशोरकिशोरीलाई भारत लैजाने र काँकडभिट्टाबाट ५२ किलोमिटरपूर्व भारतको सिलिगुडी शहरका अवैध होस्टेलमा बन्धक बनाएर राख्ने क्रम ह्वात्तै बढेको पाइएको छ ।
काँकडभिट्टा नाकाबाट दिनहुँ नेपाली युवतीलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइने गरेको प्रहरीको भनाइ छ । दुई वर्षदेखि ओरियन्सले मान्छे लैजाने गरे तापनि अहिले गतिविधि अत्यधिक बढेको हो ।

१५ दिनमा ४५ युवतीकाे उद्धार


इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल ओरियन्स नेटवर्किङ कम्पनीमा काम दिलाउने प्रलोभनमा नेपाली सोझा युवतीलाई भारत लगेर अवैध होस्टेलमा बन्धक बनाइराख्ने बढ्दो क्रमले उनीहरु मानव बेचबिखनको जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ ।
उहाँले १५ दिनमा ओरियन्सका लागि भारत जान लागेका ४५ युवतीलाई नाकाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी दिनुभयो ।
माघ लागेयता नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी भारतको सिलिगुडी लैजाने कार्यमा संलग्न दोलखाका २१ वर्षीय पोखरेललाई पक्राउ गरी काँकडभिट्टा इप्रकाले मानव बेचबिखन अभियोगमा मुद्दा चलाएको छ भने उदयपुरकी मीना बस्नेत र महोत्तरीका कमलेश सासुरीसहित चार जनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । बस्नेत माघ १५ गते पक्राउ परेकी हुन् भने सासुरीलाई माघ १८ गते पक्राउ गरिएको थियो ।

ओरियन्सको ठगी धन्धा


नेपाली युवकयुवतीलाई फँसाइरहेको ओरियन्स भारतमा दर्ता रहेको नेटवर्किङ धन्धा हो । नेपालमा नेटवर्किङ धन्धा प्रतिबन्धित भएकाले यसका कारोवारीले नेपालभित्र लुकीछिपी गतिविधि गरेका हुन्छन् ।
पश्चिम बङ्गाल, सिलिगुडीस्थित सिटी सेन्टरमा ओरियन्स ग्लोबल मार्केटिङ प्रालिको ब्यानरमा कार्यालय छ । कार्यालयमा सुमन नाम बताउने प्रमुख कार्यकारी अधिकृत र पिन्टुलाल नाम बताउने मार्केटिङ प्रमुख रहन्छन् तर यिनीहरुसँग नेपालबाट गएका युवकयुवतीको हत्तपत्त भेट हुँदैन । तल्लो तहका व्यक्ति विभिन्न पदवी देखाउँदै नेपालीसँग कुराकानी र कारोवार गर्छन् ।

अर्बपति बन्न सकिने फोस्रो सपना


यस कम्पनीले प्रवेश गर्न शुरुमै रु एक हजार तिराउँछ । यसपछि तीन दिने तालीम भनेर रु सात हजार असुल्छ । तालीममा कलिला युवकयुवतीको ‘ब्रेनवास’ गरेर सदस्य सञ्जाल विस्तार गर्न सिकाइन्छ भने महिनाको अर्बपति बन्न सकिने फोस्रो सपनामा उनीहरुलाई भ्रमित पारिन्छ ।
तालीममा कसरी पैसा कमाउने होइन, कमाएको पैसा के गर्ने भनेर युवकयुवतीलाई कम्पनीको सदस्य बन्ने गरी सम्मोहित गरिन्छ । मासिक रु ३५ हजारदेखि डेढ लाखसम्म आम्दानी हुन्छ भन्दै सदस्यलाई ओरियन्स कम्पनीकै फुड सप्लिमेन्ट बेच्न वा नयाँ तीन सदस्य खोज्न लगाइन्छ ।
रक्त क्यान्सर समेत निको पार्ने भन्दै बेचिने उक्त औषधि दिने कुनै डाक्टर हुँदैनन्, कक्षा ११/१२ पढेको तिनै सदस्यले नै औषधि दिन्छन् । तल्लो तहको सदस्यलाई फस्ट, सेकेन्ड, थर्ड हुँदै क्रमागत रुपमा डायमण्ड उपाधि दिइन्छ । फस्र्ट डायमण्डलाई रु १० देखि १५ हजार, सेकेन्ड डाइमण्ड हुनेलाई रु ३० देखि ३५ हजार र थर्ड डाइमण्ड बन्न चाहनेलाई रु एक लाख लगानी गर्न बाध्य पारिन्छ ।

करकापमा पारी पैसा झिकाउने र लुटाउने


साना हातको काँकडभिट्टा कार्यालयका स्टेशन म्यानेजर राजेश गुरुङका अनुसार तालीम लिएका युवाले जागीरको धरौटीका लागि भन्दै अभिभावकलाई करकापमा पारेर पैसा झिकाउने र ओरियन्स कम्पनीका कारोवारीलाई लुटाउने गरेका छन् ।
पैसा नपठाए आफ्नै मिर्गौला बेचेर पनि ओरियन्सको जागीर खाने वा त्यसको विकल्पमा आत्महत्या गर्ने भन्दै युवाले पैसाका लागि अभिभावक धम्क्याउने गरेको जानकारी प्राप्त भएको गुरुङले बताउनुभयो । पैसा लिएपछि कम्पनीले कुनै बिल भपाई दिँदैन ।
भारतको पानीटङ्कीस्थित साना हातका स्टेशन मेनेजर विवश रसाइलीले ओरियन्स कम्पनीमा काम गर्न भन्दै नेपालबाट कलिलो उमेरका युवालाई भारतको सिलिगुडी मा लैजाने क्रम धेरै बढेको पाइएको जानकारी दिँदै भारतका बासिन्दा भने यस नेटवर्किङ धन्धामा नफसेको बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालका रोल्पा, रुकुम, जाजरकोट, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, दैलेखलगायत जिल्लाबाट आउनेको सङ्ख्या अधिक छ । आफूहरुले सोधपुछका क्रममा धेरैजसोलाई सम्झाइबुझाई नेपालतिर फर्काइदिने गरेको रसाइलीले बताउनुभयो ।

आफन्त र साथीसंगी फसाउन जाेड


ओरियन्सका मुख्य कारोवारीले नेपाली युवकयुवतीलाई सदस्य बनाएर पैसा असुलिसकेपछि बोनस र डायमन्ड पदवी बढाउने बहानामा आफ्नै नातागोता, फेसबुकका साथी र बेरोजगारलाई सदस्य बनाउन दवाव दिने गरेका छन् ।
साथीसंगी नफसाएसम्म आफ्नो लगानी नउक्सिने भएकाले नयाँ सदस्यहरु एजेन्टमा रुपान्तरित हुँदै आएका छन् । एजेन्टले फेसबुकका बेस्ट फ्रेन्ड र नजीकका नातेदारलाई विश्वासमा पारेर सञ्जालको सदस्य बनाउँदै आएका छन् ।
सदस्य बनाउन ल्याउने गरिएका अधिकांश युवा कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रका छन् । उनीहरु उमेरले कलिला रहेका र झापा भन्ने ठाउँ नै नचिनेको पाइएको छ ।
लैङ्गिक विभेदमा परेका, पढाइमा मन नलगाइरहेका, बाबुआमाबाट टाढा रहेका र फेसबुकमा नचिनेका साथीसँग खुलेर कुराकानी गर्दै आएका किशोरीलाई लक्ष्य गरी सदस्य बनाउने गरिएको छ ।
हरेक दिन ओरियन्सको तालीम, कुराकानी, अर्बपति बन्ने सपना आदिले गर्दा उनीहरुमा भावी जीवन सुखी र समृद्ध बनाउन ओरियन्स एक मात्र सहारा हो भन्ने भ्रम पर्ने गरेको छ ।

-epurba