काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आईसीसी विश्वकप क्रिकेट लीग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरू हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई/दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।

गएको १० अक्टोबरमा ओमानसँग उसकै घरेलु मैदानमा फराकिलो अन्तरले पराजित भएको थियो । पाँच देश सम्मिलित टी–ट्वान्टी सिरिजमा ओमानसँग नेपाल ४९ बल रहँदै ६ विकेटले पराजित भएको थियो । त्यसबेला नेपालका लागि नेपाली मुलकै खेलाडी बाधक बनेका थिए । ६५ रनको सामान्य चुनौती पछ्याएको ओमानका लागि सुरजकुमार नेपालीले अविजित रहँदै ३० बलमा ४५ रन जोड्दै बिस्फोटक ब्याटिङ गरेपछि नेपाल पराजित हुन पुगेको थियो । उक्त खेलबाट सुरजकुमार नेपाली मूलकै भएको धेरैले थाहा पाए ।

बुधबार ओमान विरुद्ध हुने खेलमा पनि तिनै सुरजकुमार नेपाली चुनौतीका रुपमा देखिएका छन् । उत्कृष्ट फर्ममा देखिएका सुरजकुमारले जारी एक दिवसीय लिगको पाँच खेल मात्रै ब्याटिङ गर्दै एक अर्धशतक सहित ११८ रन जोडिसकेका छन् ।

ओमानको टीममा सन् २०१८ देखि खेल्न थालेका अलराउण्डर ३१ वर्षीय सुरजकुमारको पुर्खौली घर, बाग्लुङको बुर्तिबाङ हो । उनी वैदेशिक रोजगारीका लागि सन् २०१५ मा ओमान पुगेका थिए । साेमपाल कामीसँगै भारतका विभिन्न ठाउँबाट खेलेकाे सुरजकुमार भारतबाटै ओमान गएका हुन्।

कुनै पनि देशमा तीन वर्ष बसेपछि उक्त देशबाट खेल्न पाउने आईसीसीको प्रावधानअनुसार, सुरज ओमानको राष्ट्रिय टीमबाट खेल्छन् । विकेट किपर समेत रहेका सुरजकुमार गएको ८ जनवरीमा नामिबिया विरुद्ध ५८ रन जोडेका थिए ।

त्यसै पनि जारी लिगमा ओमानका ब्याटिङ लाइन राम्रैसँग चलिरहेको छ । सुरजकुमार सहित पाँच जनाले अर्धशतक जोडिसकेका छन् । लिग टु को बढी रन बनाउने खेलाडी सूचीमा ओमानका आकिब सलेह्री, खवार अली, जतिन्दर सिंह, सन्दीप गउड र सुरजकुमार छन् । यी पाँचै जनाले अर्धशतकीय पारी खेलेका छन् ।

सलेह्रीले ६ ओडीआईमा चार अर्धशतक गर्दै ३०८ रन जोडिसकेका छन् भने खवार अलीले ६ इनिङमा एक अर्धशतक सहित १५५ रन जोडेका छन् । जतिन्दर सिंहले एक अर्धशतक सहित १४२ र सन्दीप गउडले एक अर्धशतक १३३ रन जोडेका छन् ।

विकेट किपिङ, ब्याटिङ, बलिङ र फिल्डिङ गर्न सक्ने सुरजकुमारको प्रदर्शन ओमानका लागि महत्वपूर्ण हुनेछ । सँगै, वैदेशिक रोजगारका लागि ओमान पुगेर त्यही देशबाट खेलिरहेका सुरजकुमार नेपालका लागि भने चुनौती हुनेछन् ।

सन् २०१८ मा एसिया कप छनोट खेलमा नेपाल विरुद्ध खेल्दै ओमानको राष्ट्रिय टीममा डेब्यू गरेका सुरजकुमारका लागि भने आफ्नै पुर्खौली देश विरुद्ध हुने तेस्रो खेल हो । उनले ओमानबाट सात एक दिवसीय, १३ टी–ट्वान्टी र १५ लिष्ट ए खेलिसकेका छन् ।