काठमाडौं : गायिका आस्था राउत आफैं प्रहरी कार्यालय पुगेकी छिन्। सोमबार बिहान राउत महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पुगेकी काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी काटिएको थियो । विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन्। उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरेकी थिइन्।


सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभमा आएकी थिइन्।
ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको छ। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’ लगायत अपशब्द प्रयोग गरेकी थिइन्।